Logo

झापा–५ मा चुनावी तापक्रम चुलियो, बालेन र ओलीको सम्भावित भिडन्तले देशभर ध्यान तान्दै



झापा, २ माघ।  आगामी निर्वाचनलाई लक्षित गर्दै झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राजनीतिक गतिविधि तीव्र बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले यही क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेसँगै चुनावी माहौल तातिएको हो।

बालेनको उम्मेदवारी व्यवस्थापनका लागि नवीन भण्डारी र निश्चल बस्नेतसहितको टीम हिजो दमक आइपुगेको छ । बालेन उम्मेद्वारी दर्ताका लागि माघ ६ गते दमक आउँदैछन् ।

बालेन बस्नका लागि तीनवटा घर भाडामा लिने तयारी गरिएको छ । अहिलेसम्म भाडाको घरको टुंगो लागिनसकेको रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले बताए ।

लामो समयदेखि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभाव क्षेत्र मानिने झापा–५ मा यसपटकको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। ओली पनि माघ ५ गते चुनावी कार्यक्रम तथा उम्मेदवारी दर्ताका लागि झापा आउने तालिका तय भएको छ।

धेरैले यो निर्वाचनलाई ‘अनुभवी राजनीतिक नेतृत्व’ र ‘नयाँ पुस्ताको प्रतिनिधित्व’बीचको प्रतिष्पर्धाका रूपमा हेरेका छन्। युवामाझ लोकप्रिय बालेन र स्थापित नेता ओलीबीचको सम्भावित भिडन्तले झापा–५ मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि विशेष चासो बढाएको छ।

प्रतिक्रिया दिनुहोस्