Logo

झापा-५ मा चुनावी ताप: बहुस्तरीय सुरक्षा घेरा कडा, हवाई गस्ती सुरु



झापा, २० फागुन । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै ‘इलेक्सन इपिसेन्टर’का रूपमा चिनिएको झापा क्षेत्र नम्बर ५ मा सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका केपी शर्मा ओली र बालेन शाहबीचको चुनावी भिडन्तका कारण क्षेत्रलाई संवेदनशील मान्दै सुरक्षा निकायहरू उच्च सतर्कतामा छन्।

कम्पनी अपरेटिङ बेसदेखि हवाई रेकीसम्म

निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नेपाली सेनाले गत माघ २१ गतेदेखि दमक–८ स्थित सभागृहमा कम्पनी अपरेटिङ बेस (सीओबी) स्थापना गरेको छ। चारआलीस्थित अरिदमन गणका सेनानी सुरेन्द्र योगीको कमाण्डमा रहेको सीओबीअन्तर्गत दमक, गौरादह, तोपगाछी र गौरीगञ्जमा प्लाटुन अपरेटिङ बेस (पीओबी) खडा गरिएका छन्।

हाल २५० भन्दा बढी सैनिक परिचालन गरिएको छ। प्रत्येक पीओबीमा लप्टनको नेतृत्वमा ३५ सदस्यीय टोली खटिएको जनाइएको छ। दमकमा अस्थायी हेलिप्याड निर्माण गरी नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ। एएलएच हेलिकप्टरमार्फत विशेष फोर्सले बजार क्षेत्र तथा सम्भावित संवेदनशील स्थानमा ‘हवाई रेकी’ गरेको बताइएको छ।

जमीनमा बख्तरबन्द गाडी, डे–नाइट पेट्रोलिङ

जमीनमा चार बख्तरबन्द गाडीसहित विशेष फौज परिचालन गरिएको छ। एक महिनादेखि भेइकल पेट्रोलिङ, डे–नाइट पेट्रोलिङ र फ्ल्याग मार्च नियमित रूपमा सञ्चालन भइरहेका छन्। सुरक्षा बेसहरूमा बम डिस्पोजल टोलीलाई ‘हाई अलर्ट’मा राखिएको छ।

संभावित जोखिम न्यूनीकरणका लागि विद्यालयस्तरमा ‘माइन रिस्क एजुकेशन’ कक्षा सञ्चालन गर्दै बेवारिसे वस्तु भेटिएमा कसरी सुरक्षित रहने र सूचना दिने भन्ने विषयमा सचेतना फैलाइएको छ।

मतदान र मतगणनामा कडाइ

सेनाले निर्वाचन प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप नगर्ने तर सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ। मतदानका बेला सेना तेस्रो घेरामा रहनेछ र मतदान केन्द्रभित्र प्रवेश गर्ने छैन। मतपेटिका ढुवानीमा ‘स्कर्टिङ’ र ‘पिकेटिङ’मार्फत सुरक्षा दिइनेछ।

दमकस्थित अर्ग्यानिक कृषि भवनमा हुने मतगणना स्थलमा अन्तिम नतिजा नआएसम्म २४ घण्टा पहरा दिने योजना रहेको छ। निर्वाचन बिथोल्ने वा हस्तक्षेप गर्ने प्रयास भए कडा कारबाही गरिने चेतावनी सुरक्षा निकायले दिएको छ।

जिल्ला सुरक्षा समिति र उच्च सैनिक अधिकारीहरूले सुरक्षा बेसको निरीक्षण गर्दै तयारी सुदृढ बनाएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्