Logo

झापा-५ मा चुनावी सरगर्मी: बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै



झापा, ६ माघ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज देशभर उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ। यसै क्रममा झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजै उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाका निर्वतमान मेयरसमेत रहेका शाहले बिहान ११ बजे मनोनयन दर्ता गर्ने तालिका रहेको छ। उनी दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोर नजिकैबाट बाजागाजासहित समर्थकहरूको टोलीका साथ निर्वाचन कार्यालयतर्फ प्रस्थान गर्नेछन्।

त्यही क्षेत्रबाट उम्मेदवारी दिने एमाले अध्यक्ष ओलीले भने आज दिउँसो १ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ। पार्टी क्षेत्रीय समन्वय कमिटी झापा–५ का संयोजक नारायणप्रसाद गौतमका अनुसार सबै तयारी पूरा भइसकेको छ।

यसैबीच, पूर्वप्रधानमन्त्री ओलीले उम्मेदवारी दर्ताअघि सामाजिक सञ्जालमार्फत आजलाई ‘विशेष दिन’ भन्दै देश र नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने यात्राको सुरुवात भएको उल्लेख गरेका छन्।

झापा–५ मा प्रमुख दलका चर्चित नेताहरूको प्रतिष्पर्धा हुने भएपछि निर्वाचनको माहोल थप रोचक बनेको छ।

प्रतिक्रिया दिनुहोस्