झापा, २६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज झापा क्षेत्र नम्बर ५ का १५ स्थानमा मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
उनको सचिवालयका अनुसार कमल गाउँपालिकामा केन्द्रित रहेर सोमबार बिहान ७:३० बजेदेखि कार्यक्रम सुरु भएको हो। सानो केर्खा चोकबाट सुरु भएको भेटघाट कार्यक्रम क्रमशः सिंघदेबी मन्दिर, केर्खा बजार, केराधाप, क्याम्पा, सुनहरा (उराउ तथा संथाल बस्ती), ढ्यांग्री हुँदै अघि बढ्नेछ।
त्यसैगरी शरंग्पडा बजार, बाह्रबिघा मन्दिर, नहरचोक, शान्तिचोक, सुकुम्बासी बस्ती, समैगडा, छलफल चोक र भुत्लुंग स्कुल क्षेत्रमा पनि नागरिकसँग अन्तरक्रिया कार्यक्रम तय गरिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। दुवै नेता अहिले आफ्नो क्षेत्रमा मतदाता रिझाउने अभियानलाई तीव्रता दिइरहेका छन्।







