झापा, २६ फागुन । झापा–५ मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता हासिल गरेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार रास्वपाले यहाँ सबैभन्दा धेरै ५२ हजार ८१५ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा नेकपा (एमाले) रहेको छ। एमालेले समानुपातिकतर्फ १५ हजार ८९ मत मात्र प्राप्त गरेको छ। एमालेपछि हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले ८ हजार ८३९ मत प्राप्त गरेको छ।
त्यस्तै नेपाली कांग्रेसले ४ हजार ८८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ हजार ४०१ मत र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १ हजार ६६० मत प्राप्त गरेका छन्।
यसअघि प्रत्यक्षतर्फ पनि झापा–५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पराजित भएका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) ले फराकिलो मतान्तरले पराजित गरेका हुन्।
शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरेका थिए। यसरी बालेनले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले हराएका हुन्।







