झापा, १९ पुष । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा ओभर–रन भएर दुर्घटनाग्रस्त भएको क्षण अझै मनबाट नहटेको अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनले बताएका छन्। दुर्घटनाकै समयमा विमानभित्र रहेका मेयर गोम्देनले त्यसबेला यात्रुहरूले झ्याल फुटाएर बाहिर निस्कनु पर्ने स्थिति आएको स्मरण गरे।
“यदि झ्याल नफुटाइएको भए हामी सबै भित्रै चेप्टिएर मर्ने अवस्थामा पुग्थ्यौँ। डर त थियो, तर ज्यान जोगाउन हामीले हाम फाल्यौँ,” मेयर गोम्देनले अनुभूत पीडा सुनाए।
उनका अनुसार विमान रनवेबाट चिप्लिएर घाँसे जमिनतर्फ पुगेपछि यात्रुहरू एकछिन स्तब्ध बनेका थिए। केहीबेरपछि चालकदलको निर्देशन र यात्रुहरूबीचको समन्वयमा झ्याल तोडी बाहिरिन सफल भएका थिए।
दुर्घटनापछि सुरक्षाकर्मी र उद्धार टोली तत्कालै घटनास्थल पुगेको थियो। घाइते यात्रुहरूको उपचार भद्रपुरका अस्पतालमा गरिएको र अधिकांश सामान्य अवस्थामा घर फर्किइसकेको जनाइएको छ।
उक्त घटनाबारे नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्सले संयुक्त रूपमा प्राविधिक छानबिन थालेका छन्।







