अङ्कारा, १६ जेठ (एएफपी) । टर्कीएको राष्ट्रपतिमा रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएकामा विश्वका विभिन्न देशका नेताले उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन राष्ट्रपति एर्दोगानलाई आफ्नो दुई दशकको शासन विस्तार गर्न आइतबारको ऐतिहासिक दोस्रो चुनावमा विजयी भएपछि सबैभन्दा पहिले बधाई दिने विश्व नेताहरूमध्येका नेता हुन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले विश्वव्यापी साझा चुनौती सामना गर्न टर्कीएका समकक्षी एर्दोगानसँग सहकार्य गर्ने बताए । उनले अमेरिका–टर्कीए सम्बन्धका साथै साझा विश्वव्यापी चुनौतीको सामना गर्न उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) सहयोगीका रूपमा सँगै काम गर्न तत्पर रहेको बताए ।
केही असहमतिका बाबजुद एर्डोगानसँग प्रमुख अन्तरराष्ट्रिय मुद्दामा नजिकबाट सहकार्य गरेका रुसका राष्ट्रपति पुटिनले टर्कीएका नेतालाई उनको विजय ‘तपाईंको समर्पित कामको तार्किक परिणाम’ भएको बताए । उनले राज्यको सार्वभौमसत्ता बलियो बनाउन र स्वतन्त्र विदेश नीतिका निम्ति एर्दोगानले गर्नुभएका प्रयासको समर्थन एवम् त्यसको स्पष्ट प्रमाण भएको उल्लेख गरे ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले टर्कीएसँगको रणनीतिक सम्बन्धलाई सुदृढ बनाउन चाहेको उल्लेख गरे । टर्कीए सदस्य रहेको नाटो सैन्य गठबन्धनका महासचिव जेन्स स्टोल्टेनबर्गले पनि राष्ट्रपति एर्दोगानप्रति बधाई ज्ञापन गरे ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एर्दोगानलाई पुनः निर्वाचित भएकामा बधाई दिँदै टर्किए र राष्ट्रसङ्घबीचको सहयोग र साझेदारीलाई अझ सुदृढ बनाउन तत्पर रहेको बताए ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, जर्मनीका चान्सलर ओलफ सोल्ज, युक्रेनका राष्ट्रपति भोलोदिमिर जिलेन्स्की, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ, ग्रीसका अन्तरिम प्रधानमन्त्री, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता, तालिबान सरकारका प्रतिनिधिलगायतले राष्ट्रपति एर्दोगानप्रति बधाई ज्ञापन गरेका छन् ।







