
काठमाडौँ, ७ साउन । रुस-युक्रेन संघर्षबीच शुक्रबार तुर्कीएको राजधानी इस्तानबुलमा खाद्यान्न निर्यात सम्बन्धी ब्ल्याक सी ग्रेन इनिशिएटिव सम्झौता भएको छ । युक्रेनले ब्लाक सीको मार्ग प्रयोग गरी खाद्यान्न निर्यात गर्दा रुसले अवरोध नगर्ने भएको छ । दुई देशबीच युद्ध आरम्भ भएपछि रुसले युक्रेनलाई खाद्यान्न निर्यातमा अवरोध गर्दै आएको थियो । चार महिनासम्मका लागि भएको यो सम्झौताको संयुक्त राष्ट्र संघले स्वागत गरेको बीबीसीले जनाएको छ ।
टर्कीएका राष्ट्रपति रेचेप तैयप्प अर्दोआनले सम्झौताका लागि मध्यस्थता गरेका छन् । युक्रेनको खाद्यान्न निर्यातको अनुगमन तथा निगरानीको कार्य टर्कीएले गर्ने भएको छ । समुन्द्रको बारुदी सुरुंग हटाउनु परे तेस्रो मुलुकले गर्ने सम्झौतामा उल्लेख छ । युक्रेनको खाद्यान्न निर्यात गर्ने पानी जाहजमा हतियार भए नभएको जाँच युक्रेनले अनुमति दिने सम्झौतामा उल्लेख छ ।
युक्रेन खाद्य उत्पादनमा महत्वपूर्ण देश हो । रुस-युक्रेन युद्धले खाद्यायन्न निर्यातमा अवरोध हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा महंगी र खाद्यान्न संकट सुरु भएको छ । रुस-युक्रेनको यो सम्झौताले विश्वमा बढ्दो खाद्य संकट टार्न सहयोग पुग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।