काठमाडौँ, ९ फागुन । शक्तिशाली भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा सोमवार फेरि अर्को भूकम्प गएको छ । उक्त भूकम्पमा परेर हालसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ । सोमवारको भूकम्प ६.४ म्याग्निट्यूडको भएको बताइएको छ ।
पछिल्लो भूकम्पका कारण टर्की र सिरियामा गरी ६८० जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ । टर्कीको विपद् तथा आपत्कालीन मामिलासम्बन्धी निकाय अफादले त्यहाँको समयानुसार सोमवार साँझ ८ ः ०४ बजे भूकम्प गएको र त्यसपछि दर्जनौँ परकम्पहरू पनि मापन गरिएको जनाएको छ ।
पहिलेको भूकम्प र मृत्यु
उक्त क्षेत्रमै फेब्रुअरी ६ तारिखमा गएको ७.८ म्याग्निट्यूडको भूकम्पले टर्की र सिरियामा गरी ४४ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो। सोमवारको भूकम्पमा परी मृत्यु हुनेहरू अन्टाक्या, डफ्न र समन्डगीका बासिन्दा हुन् ।
टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयलुले मानिसहरूलाई जोखिम भएका भवनमा प्रवेश नगर्न आग्रह गरेका छन् । उनले पछिल्लो भूकम्पका कारण टर्कीमा २१३ जना घाइते भएको बताए ।
प्रत्यक्षदर्शीले रोयटर्स समाचारसंस्थालाई अन्टाक्यामा भवनहरूमा थप क्षति भएको बताएका छन् । दक्षिणी टर्कीको हाटाईका मेयरले मानिसहरू भग्नावशेषमा फसेको बताएका छन् । बीबीसीबाट