पोखरा, १४ माघ । पोखरामा भइरहेको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।
पोखरा रङ्गशालामा आज भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पन्छाउँदै एपिएफले उपाधि जितेको हो ।
पहिलो सेट २५-२० ले जितेको एपिएफले दोस्रो सेट भने आर्मीले २५-२२ ले जित्यो । तेस्रो सेटमा २५-८ ले खेल आफ्नो पक्षमा पारेको एपिएफले चौथो सेट २५-२२ अङ्कले जित्दै विजेता बनेको हो ।
एपिएफले पाँच लाख रुपैयाँसहित ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता आर्मीले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।