पोखरा, १२ माघ । तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिताको महिलातर्फको उपाधिका लागि विभायीय क्लब एपिएफ र त्रिभुवन आर्मी खेल्ने भएका छन् ।
आज भएको सेमिफाइनलमा एपिएफले आयोजक गण्डकीलाई र आर्मीले न्यु डायमन्डलाई पराजित गर्दै फाइनलको यात्रा पक्का गरेका हुन् ।
विभागीय क्लब एपिएफले आयोजक गण्डकीलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले गण्डकीलाई २५-१३, २५-१७ र २५-२१ ले हराएको हो ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा आर्मीले न्यु डायमन्डलाई ३-१ को सेटमा पराजित गरेको छ । पहिलो सेट २५-२३ ले पराजित भएको आर्मीले दोस्रो सेट २५-१३ ले जित्दै खेलमा फर्किएको थियो ।
आर्मीले त्यसपछि तेस्रो सेट २५-२२ र चौथो सेट २५-१२ ले जित्दै फाइनलमा स्थान बनाउन सफल भयो ।