काठमाडौँ, २६ वैशाख । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ ।
मङ्गलवार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले यो निर्णय गरेको हो ।
सचिव रायमाझीको नाम पनि यो प्रकरणमा आएकाले उनले विधिपूर्वक, कानुनपूर्वक अनुसन्धानको काममा सघाउनुपर्ने निर्णय गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
पक्राउ पुर्जी जारी गरिएका एमाले सचिव रायमाझी फरार रहेका छन् । तर अनुसन्धानको प्रक्रियालाई उनले सघाउनुपर्ने पार्टीले निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।
‘नेकपा एमाले कानुनको शासनमा विश्वास गर्ने पार्टी हो । खासगरी नक्कली भुटानी शरणार्थी प्रकरणमा हाम्रो कमरेड टोपबहादुर रायमाझीको नाम आएको छ । यो कानुनको शासन, विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक, कानुनपूर्वक अनुसन्धानको प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ ।’







