काठमाडौँ, १४ वैशाख । एउटा पदमा एउटै दलबाट दुई जना मनोनयन परेपछि धादिङमा नेकपा एमाले र नेपाली काँग्रेसलाई तनाव थपिएको छ ।
थाक्रे गाउँपालिकाको अध्यक्षमा एमालेबाट कृष्ण पन्त र रामकुमार आचार्य दुई जनाको उम्मेदवारी परेको छ। नीलकण्ठ नगरपालिका-९ वडाध्यक्षमा काँग्रेसका राजन बराइली र रामहरि लम्सालले मनोनयन दर्ता गराएका छन् ।
एमालेबाट थाक्रेको अध्यक्षमा मनोनयन दर्ता गराएका पन्त र आचार्य दुवै जनाले पार्टीको आधिकारिक टिकटबाटै मनोनयन दर्ता गराएका हुन् । फरक यत्ति हो, पन्तले जिल्लाको संयन्त्रबाट आधिकारिक टिकट लिए, आचार्यले प्रदेश कमिटीबाट ल्याए । अझ रोचक त के छ भने, जिल्ला संयन्त्रबाट आधिकारिक टिकट लगेर पन्तले मनोनयन दर्ता गरिसकेको आचार्यले थाहै पाएका रहेनछन् । आफ्नो मनोनयन निर्वाचन आयोगको सफ्टवयरले नलिएपछि मात्रै थाहा पाएका रहेछन् । एउटै पदमा एउटै दलका दुईजना उम्मेदवारको नाम निर्वाचन आयोगको सफ्टवेयरले लिँदैन । आजको नागरिक दैनिकमा समाचार छ ।