दाङ, ७ जेष्ठ । राप्ती राजमार्ग अन्तर्गत दाङको कपुरकोट-तुलसीपुर सडक खण्ड बन्द गरिएको छ ।
टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि मृतकका आफन्त र चार राजनीतिक दलले राप्ती राजमार्ग अन्तर्गत कपुरकोट-तुलसीपुर सडक खण्ड बन्द गरेका हुन् ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्तरुपमा विज्ञप्ति निकालेर आज बिहान १० बजेदेखि राप्ती राजमार्ग अन्तर्गत कपुरकोट-तुलसीपुर सडक खण्ड बन्द गरिएको जनाएका हुन् ।
तुलसीपुर-४ हर्नेटीमा यही बिहीवार बेलुका टिपरको ठक्करबाट गम्भीर घाइते भएका कपुरकोट गाउँपालिका वडा नम्बर-३ का १८ वर्षीय आकाश सेनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको थियो ।
कपुरकोटबाट तुलसीपुर आउँदै गरेको रा १ प ३१७९ नम्बर मोटरसाइकललाई रा १ ख ११२३ नम्बरको टिपरले ओभरटेक गर्ने क्रममा तुलसीपुर-४ हर्नेटीमा ठक्कर दिएको थियो । मृतक सेनको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।