नुवाकोट, ४ जेठ । नुवाकोटको बेलकोटगढी नगरपालिका-७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु गाउँपालिका-१ बोरापानीका नेत्रमान विश्वकर्माको मृत्यु भएको छ भने उनका छोरा निरज घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार ५० वर्षीय नेत्रमानको उपचारका क्रममा त्रिशूली अस्पतालमा निधन भएको हो ।
उनका छोरा २० वर्षीय निरजको हातखुट्टासहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट लागेकाले अवस्था गम्भीर छ । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।
नुवाकोटको देवीघाटबाट धादिङको गल्छीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-२९प ५७५८ नं को मोटरसाइकललाई गल्छीबाट देवीघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१-ख २५८४ नं को टिपरले बेलकोटगढी नगरपालिका-७ ठूलोखोलामा आज बिहान १० बजेको समयमा ठक्कर दिएको हो ।







