Logo

टीआरसीसँग सम्बन्धित विधेयक समितिमा नगइ अघि बढ्दैन: बर्ताैला



काठमाडौँ, ४ वैशाख । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा छलफल नभइ अघि नबढ्ने बताएका छन् ।

सोमवार बालकोटमा बसेको प्रमुख तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले नेकपा एमाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक चाँडै टुङ्गोमा पुर्याउनुपर्छ भन्ने पक्षमा रहेको र अन्तर्राष्ट्रिय जगतले प्रश्न उठाउन नसक्ने गरी मात्रै ऐन बनाउनुपर्ने अडानमा रहेको बताए ।

उनले सङ्क्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक राष्ट्रको साझा विषय भएको उल्लेख गर्दै विधेयकमा रहेका कतिपय कन्टेनहरुमा विस्तृत छलफल गर्न आवश्यक रहेको बताए । उन एक महिनाको समय लिएर भए पनि परिपक्व ऐन बनाएर मात्रै अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘दलहरुकाबीचमा समझदारी गरेर अघि बढ्ने, सहमतिकासाथ अघि बढ्ने भन्ने सन्दर्भमा केन्द्रित भयो । नेकपा एमालेले प्रधानन्यायाधीशविहीन सर्वोच्च अदालत भएकाले अविलम्ब प्रधनन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने कुरा राखेको छ । त्यसका लागि संवैधानिक परिषद्को बैठक बस्नुपर्छ । अविलम्ब बैठक बसेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने सहमति भएको छ । टीआरसीसँग सम्बन्धित विषय, विषयगत समिति पनि तत्काल बनाउने बारेमा छलफल भएको छ । टीआरसी राष्ट्रको साझा विषय हो । हामी छिटो गर्नुपर्छ भन्नेमा छौँ ।’

प्रतिक्रिया दिनुहोस्