Logo

नेपाल पहिलोपटक दक्षिण अफ्रिकासँग खेल्दै , चुनौतीका लागि तयार छौँ : रोहित



काठमाडौँ, ३२ जेठ । दोस्रोपटक टी-२० विश्वकप खेलिरहेको नेपालले शनिबार बिहान पहिलोपटक दक्षिण अफ्रिकासँग खेल्दैछ । विश्वकपमा दक्षिण अफ्रिकासामु नेपालले चुनौती प्रस्तुत गर्दा यो अन्तर्राष्ट्रिय क्रिकेटमै यी दुई टिमबीचको पहिलो भेट बन्नेछ ।

दोस्रोपटक विश्वकप खेलिरहेको नेपालले शनिबार बिहान वेस्ट इन्डिजको किंग्सटाउनमा अफ्रिकी टोलीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह ‘डी’ बाट अन्तिम खेलअगावै सुपर–८ मा स्थान निश्चित गरिसकेको दक्षिण अफ्रिका शतप्रतिशत जितको लक्ष्यमा छ ।

नेपाल भने जितसहित सुपर–८ को सम्भावनालाई समूह चरणको अन्तिम खेलसम्म कायम राख्न चाहन्छ । सेन्ट भिन्सेन्टस्थित अर्नोस भाल मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ ।

खेलअघिको पत्रकार सम्मेलनमा  रोहित पौडेलले सुपर–८ मा प्रवेश गर्न नेपालले दुवै खेल जित्नुपर्ने अवस्थाबारे जानकार रहेको बताउँदै चुनौतीका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् । “यो प्रतियोगितामा दक्षिण अफ्रिकाले राम्रो खेलिरहेको छ । बंगलादेश पनि राम्रो टिम हो । र, हामीलाई सुपर–८ मा पुग्न दुवै खेल जित्नुपर्छ भन्ने राम्रो जानकारी छ । हामी आगामी चुनौतीका लागि तयार छौँ,” रोहितले भने ।

दक्षिण अफ्रिकाले नेपालविरुद्ध तीव्र गतिको आक्रमण गर्न रणनीति लिन सक्ने सम्भावना बढी देखिन्छ।  कप्तान पौडेलले विश्वकपको मञ्चमा क्षमतानुसार प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। पत्रकार सम्मेलनमा उनले भने, “दक्षिण अफ्रिका उच्त स्तरको टोली हो। टोलीलाई हराउन हाम्रा एक-दुई खेलाडीहरुले मात्र राम्रो प्रदर्शन गरेर पुग्दैन। सम्पूर्ण टोली नै सङ्गठित हुनु जरुरी छ। त्यसो गर्न सके हामीले दक्षिण अफ्रिकालाई हराउन सक्छौँ।”

मैदानको अवस्था हेर्दा दक्षिण अफ्रिकासँगको खेलमा १६० रन जतिको लक्ष्य उपयुक्त हुन सक्ने भन्दै उनले सन्दीप लामिछानेको उपस्थितिसँगै त्यति रन जोड्न सके प्रतिद्वन्द्वी टोलीका लागि त्यो चुनौती हुन सक्ने बताए।

उनले नेपाली टोलीले बलिङमा राम्रो गरिरहेको भन्दै ब्याटिङमा सबै खेलाडीले राम्रो योगदान गर्नुपर्ने धारणा व्यक्त गरे।

समूह ‘डी’ मा दुई खेलबाट एक अंक जोडेको नेपाल चौथो स्थानमा छ । तीन खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्