Logo

टी–२० विश्वकपः नेदरल्यान्ड्समाथि पाकिस्तानको रोमाञ्चक जित



काठमाडौं, २४ माघ । टी–२० विश्वकपमा पाकिस्तानले जितसँगै प्रतियोगिताको सुरुवात गरेको छ । भर्खरै सम्पन्न प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी यात्रा सुरु गरेको हो ।

१४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । एक समय खेल नेदरल्यान्ड्सको पक्षमा गइरहेको थियो । तर, अन्तिममापाकिस्तानलाई जित दिलाउन फहिम अशरफले सानदार ब्याटिङ गरे । ११ बल खेलेका उनले तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित २९ रन जोडे ।

यस्तै, साहिवजादा फरहानले ४७, साइम अयुवले २४, बाबर आजमले १५, सलमान अघाले १२ रन बनाए ।

बलिङतर्फ नेदरल्यान्ड्सका आर्यान दत्त र पल भान मिकेरनले दुई–दुई विकेट लिए भने रोइलफ भान डर मेर्वे, लोगान भान बीक र काइल क्लेइनले एक–एक विकेट लिए ।

त्यसअघि श्रीलंकाको कोलम्बोस्थित सिन्हलिज स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेदरल्यान्ड्स १९.५ ओभरमा १४७ रन जोड्दै अलआउट भयो ।

उसका लागि कप्तान स्कट इडवार्ड्सले ३७, बास डी लिडेले ३०, माइकल लेभिटले २४, कोलिन एकरम्यान २०, आर्यान दत्तले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान इडवार्ड्सले इनिङ सम्हालिरहेका थिए ।

उनी आउट भएपछि नेदरल्यान्ड्सको इनिङ ध्वस्त भयो । १७ औं ओभरमा नेदरल्यान्ड्सले दुई विकेट गुमायो । दुबै विकेट साइम अयुवले लिए ।

बलिङतर्फ पाकिस्तानका सलमान मिर्जाले तीन तथा साइम अयुव, मोहम्मद नवाज र अबरार अहमदले दुई–दुई विकेट लिँदा साहिन शाह अफ्रिदीले एक सफलता हात पारे ।

प्रतिक्रिया दिनुहोस्