काठमाडौँ, १३ कात्तिक । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएको छ ।
सिङ्गापुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर १६ दशमलव ३ ओभरमा पूरा गरेको हो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा आशिफ शेख २७ रन बनाएर आउट भएका हुन् ।
बलिङतर्फ नेपालका अभिनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई-दुई विकेट लिएका थिए ।
यस्तै, सिङ्गापुरका लागि रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान गरे भने आर्यवीर चौधरीले ३७, मनप्रित सिंहले २४ र अक्ष पुरीले १३ रन जोडेका थिए ।
अब, दोस्रो खेलमा नेपालले भोलि मलेसिया र १६ गते ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् ।
समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउने छन् ।