Logo

टी-२० विश्वकप छनोट: मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा



काठमाडौँ, १४ कात्तिक । मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मङ्गलवार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान ४ अङ्क भए पनि नेपाल नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ ।

मलेसियाले दिएको १ सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालका कुशल मल्लले अर्धशतक बनाए । मल्ल ३४ बलमा ७ छक्का र २ चौका प्रहार गर्दै ६५ रन बनाएर आउट भए । यस्तै कुशल भुर्तेल ४३ र आसिफ शेख ३२ रन बनाएर आउट भएका हुन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो । मलेसियाका सइद अजिजले सर्वाधिक ६८ रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बोहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान रोहित पौडेलले समान १ विकेट लिएका थिए ।

पहिलो खेलमा नेपालले सोमवार सिङ्गापुरलाई ८ विकेटले हराएको थियो । अब नेपालले बिहीवार ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्