Logo

टी–२० विश्वकप : नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने



काठमाडौं, २२ जेठ। टी–२० विश्वकप क्रिकेटको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।  अमेरिकाको डालासमा केही समयअघि वर्षा भएको थियो । त्यसैले टसमा विलम्ब भएको हो ।

खेल नेपाली समय अनुसार, राति ९ः१५ बजे सुरु हुने भनिएको थियो । जारी टी–२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्स दुवैले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।

विश्वपको समूह ‘डी’मा रहेको नेपालका लागि नेदरल्यान्ड्स चिरपरिचित प्रतिद्वन्द्वी हो। खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कप्तान रोहितकुमार पौडेलले विश्वकपको पहिलो खेलका लागि उत्साहित रहेको बताइसकेका छन्।

विश्वकपको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश छन्। समूहको पहिलो खेलमा सोमबार दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको छ। श्रीलङ्कालाई ७७ रनमा अलआउट गर्दै दक्षिण अफ्रिकाले ६ विकेटको उत्कृष्ट जित निकाल्दै विजयी सुरुवात गरेको हो।

नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ। नेपालका लागि श्रीलंका बलियो प्रतिद्वन्द्वी हो।

नेपालले जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ। दक्षिण अफ्रिका र बंगलादेश अहिले विश्व क्रिकेटका शक्तिशाली टिम हुन्।

२० टोलीको सहभागिता रहने विश्वकपमा चार समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्। सुपर आठमा पुग्न नेपालले कम्तिमा पनि समूह चरणका दुई खेल जित्नैपर्छ।

 

 

प्रतिक्रिया दिनुहोस्