काठमाडौं, ८ असार। आइसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत दोस्रो खेलमा वेस्टइन्डिजसँग अमेरिका ९ विकेटले पराजित भएको छ ।
शनिबार बिहान भएको खेलमा अमेरिकाले दिएको १२९ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले एक विकेटको क्षतिमा १०.५ ओभरमै पूरा गरेको हो । सहज जित निकाल्ने क्रममा वेस्ट इन्डिजका ओपनर शाही होपले ३९ बलमा ८ छक्का र ४ चौका मद्दतमा ८२ रनको अविजित इनिङ खेले ।
यस्तै, अर्का ओपनर जोनसन चार्ल्स १५ रनमा आउट हुँदा निकोलस पुनर घ छक्का र एक चौकासहित २७ रनमा अविजित रहे । अमेरिकाका हरमीत सिंहले एक विकेट लिए । अमेरिकाका एन्ड्रिस गोसले २९, नितिश कुमारले २०, मिलिन्द कुमारले १९, श्याडली भान श्यालवाएकले १८, अली खानले १४ र बरोन जोन्सले ११ रनको योगदान गरे ।
सुपर–८ को पहिलो खेलमा वेष्ट इन्डिज इंग्ल्यान्डसँग पराजित भएको थियो भने अमेरिका साउथ अफ्रिकासँग पराजित भएको हो । अमेरिकाको यो दोस्रो हार हो । यससँगै अमेरिकाको अघिल्लो चरणको सम्भावना सकिएको छ ।
समूह २ मा साउथ अफ्रिका २ खेल जितेर ४ अंकका साथ शीर्ष स्थानमा छ भने एक/एक खेल खेल जितेर २/२ अंक जोडेका वेस्ट इन्डिज र इंग्ल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अब वेस्टइन्डिजले साउथ अफ्रिका र इंग्ल्यान्डले अमेरिकासँग खेल्नेछन् । दुवैले जितेमा नेट रनरेटका आधारमा अगाडि हुने दुई टोली अघिल्लो चरण प्रवेश पाउनेछन् ।