काठमाडौं, ३० पुष । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले २०२६ टी–२० विश्वकपका खेलहरू भारतमा नखेल्ने निर्णयमा अडिग रहेको स्पष्ट पारेको छ। मंगलबार आईसीसीसँग भएको अनलाइन बैठकपछि बोर्डले सुरक्षा अवस्था आफ्नो लागि पर्याप्त आश्वस्त नदेखिएको भन्दै अघिल्लो निर्णय दोहोर्याएको हो।
आईसीसीले प्रतियोगिताको तालिका सार्वजनिक भइसकेको र भारतमा विशेष सुरक्षा जोखिम नरहेको दाबी गर्दै पुनर्विचार गर्न आग्रह गरे पनि बीसीबीले खेलाडी तथा टोलीसँग आबद्ध सबैको सुरक्षालाई प्राथमिकतामा राख्दै वैकल्पिक स्थलको माग कायमै राखेको छ।
यस विषयमा सहमति नजुटेपछि दुवै पक्षबीच संवाद जारी राख्ने सहमति भएको छ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकप फेब्रुअरी ७ बाट सुरु हुने तालिका छ। नेपाल र बंगलादेश एउटै समूहमा रहेकाले यो विवादले समूह चरणको तालिकामा समेत असर पर्न सक्ने देखिएको छ।







