सिड्नी, २३ कार्तिक । न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ ।
बुधवार सिड्नीमा भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हराएको हो ।
न्युजिल्यान्डले दिएको एक सय ५३ रनको लक्ष्य पाकिस्तानले मात्र तीन विकेट गुमाएर १९ ओभर १ बलमा भेटायो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ५७, बाबर आजमले ५३ र मोहम्मद ह्यारिसले ३० रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले दुई विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ५२ रन बनायो । उसका लागि ड्यारी मिचेलले ५३ र केन विलियमसनले ४६ रन बनाए । बलिङतर्फ पाकिस्तानका शहीन अफ्रिदीले दुई विकेट लिएका थिए ।
यसैबीच दोस्रो सेमिफाइनलमा भोलि भारत र इङ्ग्ल्यान्डबीच खेल्दै छन् । फाइनल खेल आउँदो आइतवार पौने २ बजे सुरु हुनेछ ।