झापा, ३१ साउन । ट्रकको ठक्करबाट गम्भिर घाइते भएका स्कुटर चालकको आज मृत्यु भएको छ ।
गत साउन २७ गते ट्रकको ठक्करबाट घाइते भएका स्कुटर चालक दमक नगरपालिका-४ का ६८ वर्षीय रामजुलुम नायकको आज बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत दमक-४ मा पश्चिमबाट पूर्वतर्फ आउँँदै गरेको ना८ख ३३३३ नंको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो काट्दै गरेको प्रदेश नं.१-०४-००१ प.२४५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा स्कुटर चालक नायक सख्त घाइते भएपछि दमकस्थित निम्स अस्पताल लगिएकामा थप उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा लगिएको थियो । उनको उपचारकै क्रममा आज निधन भएको हो ।






