काठमाडौं, ३१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलस्कामा भेटवार्ता भएको छ ।
पुटिनसँगको भेटमा युक्रेनबारे कुनै सम्झौता नभएको तर थप प्रगति भएको अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।
अलास्कामा आफ्ना रूसी समकक्षीसँग ट्रम्पले झन्डै तीन घण्टाको बैठकपछि दिएको जानकारी अनुसार दुई देशबीचको द्वन्द्व अन्त्य गर्ने दिशामा ठूलो प्रगति भएको छ । वार्तामा भएको भनिएको थप प्रगतिबारे सार्वजनिकरुपमा जानकारी आइसकेको छैन ।
रुसी राष्ट्रपति पुटिनले बैठकमा युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक भएको बताउनुभएको छ । साथै उहाँले ट्रम्पसँगको अर्को भेट मस्कोमा गर्न प्रस्तावसमेत गर्नुभएको छ ।
अलस्कामा रुसतर्फबाट विदेशमन्त्री सेर्गेई लाभरोभ, रक्षामन्त्री आन्द्रेई बेलोउसुभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ, राष्ट्रपति पुटिनका सहायक युरी उशाकोभ र विशेष आर्थिक दूत किरिल दिमित्रिएभलगायत वार्तामा सहभागी हुनुभएको थियो ।
अमेरिकातर्फबाट उपराष्ट्रपति जेडी भान्स, अमेरिकी विदेशमन्त्री मार्को रूबिओ, ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफ, अर्थमन्त्री स्कट बेसेन्ट, रक्षामन्त्री पिट हेगसेथलगायत हुनुहुन्थ्यो ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावी अभियानका क्रममा आफू राष्ट्रपतिमा विजयी भए २४ घण्टामै रुस–युक्रेन युद्ध अन्त्य गर्ने भन्नुभएको थियो । तर उहाँ विजयी भएको ९ महिना बितिसक्दा पनि बाचा पूरा हुन सकेको छैन । ट्रम्प र पुटिनबीचको यो भेटवार्तालाई चासोपूर्वक हेरिएको थियो ।