काठमाडौँ, ३ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । मंगलबार २९औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा(एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा समीक्षा गरिने बताएका हुन् ।
उनले स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले अपेक्षा गरेअनुसार मत परिणाम नआएको भन्दै गठबन्धनका घटकहरूले नै आफूहरूसँग सहकार्य गर्न नचाहेको उल्लेख गरे ।
उनले भने–“पार्टी निर्माणका सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ । संख्याको हिसाबले ५०० को सदस्यको तहलाई अहिले हामी नाघिरहेका छौँ । सय जना वडाध्यक्ष, १५÷२० जना पालिकाका प्रमुख, उपप्रमुख जित्ने स्थिति बनेको छ ।
कतिपय ठाउँहरूमा राम्रै अवस्था भए पनि हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौँ । गठबन्धन दलका सदस्यहरूले हामीसँग सहकार्य गर्न नचाहे पनि निर्वाचन र गठबन्धनको राम्ररी समीक्षा गरी यो पार्टीलाई बलियो जगमा उभ्याउनुपर्नेछ ।”
अध्यक्ष नेपालले वैचारिकरूपमा दह्रो बनाउनुपर्ने बताउँदै पार्टीलाई जनतामाझ क्रियाशिल गराउन नेता, कार्यकर्ताहरूलाई आग्रह गरे ।