Logo

डा. भट्टराई नेतृत्वको नेसपा नयाँ समाजवादी मोर्चाको तयारीमा



काठमाडौँ, १९ असार । डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी तथा समूहसँग संवाद, सहकार्य बढाउँदै नयाँ ध्रुवीकरणका लागि पहल गर्ने भएको छ ।

नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले आज जारी गरेको विज्ञप्तिमा मुद्दा मिल्ने पार्टीहरूसँग मोर्चा बनाएर अघि बढ्ने योजना समेत बनाइएको जनाएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको समाजवादी मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नसमेटिए पछि नेसपाले नयाँ समाजवादी मोर्चा बनाउने तयारी गरेका हो ।

प्रचार प्रमुख पाण्डेद्वारा जारी विज्ञप्तिमा दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आम जनताबीच संगठन निर्माण गर्दै सडक, सदन र सरकार तीनवटै ठाउँबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले ‘संगठन निर्माण तथा विस्तार अभियान’ सञ्चालन गरिएको जनाएका छन् ।

‘अबको राष्ट्रको संकल्प ः नयाँ समाजवादी विकल्प’ भन्ने नाराका साथ पार्टीको केन्द्रीय कार्यकारिणी समितिले अभियानको नेतृत्व गर्ने र अभियान अवधिभरकालागि ‘केन्द्रीय अभियान परिचालन समिति’ र आवश्यक सचिवालय तथा उपसमितिहरू निर्माण गर्ने पनि उनले जनाए ।

सो अभियान २०८० असारदेखि पुस मसान्तसम्म सञ्चालन हुने पाण्डेले जानकारी दिए । स्थानीय तह (गाउँपालिका÷नगरपालिका) केन्द्रित अभियानमा संघ र प्रदेश स्तरमा प्रचारात्मक, वैचारिक, व्यवस्थापकीय काम हुने उनको भनाइ छ ।

पार्टीलाई वैचारिक रूपमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रूपमा स्थापित गर्ने, पार्टी तथा नेता–कार्यकर्ताहरूको सैद्धान्तिक एवम् वैचारिक स्तर अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको पाण्डेको भनाइ छ ।

तात्कालिक जनसरोकारका विषय र निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली तथा पहिचान सहितको संघीयताको एजेन्डालाई सडक, सदन र सरकारमा सशक्त रूपमा उठाउने, सबै स्थानीय तहसम्म संगठनात्मक सञ्जाल विस्तार गर्ने उद्देश्य समेत अभियानले लिएको उनले बताए ।

यस्तै, विचार मुद्दा मिल्ने शक्तिहरूसँग संवाद, सहकार्य र ध्रुवीकरणको कामलाई अघि बढाउँदै प्रगतिशील, लोकतान्त्रिक, समाजवादी ध्रुव निर्माण गर्न पहल गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्