कास्की, १ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पोखरामा इन्धन भण्डारण गृह निर्माणले मुलुकको ऊर्जा पूर्वाधारलाई सुदृढ गर्दै राष्ट्रको ऊर्जा सुरक्षा सुनश्चित गरेको बताएका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडामा नेपाल आयल निगमले निर्माण गरेको डिजल भण्डारण गृहको आज उद्घाटन गर्दै मन्त्री रिजालले यस डिपोमा विस्तारित भण्डारण क्षमताबाट अन्य क्षेत्रले पनि फाइदा लिन सक्ने बताएका हुन् ।
निगमले उक्त स्थानमा निर्माण गरेको १० हजार किलोलिटर क्षमताका दुई वटा डिजल भण्डारण र २४ हजार किलोलिटर क्षमताको पानीट्याङ्कीको आज उद्घाटन गरिएको हो । निगमले करिब रु ८९ करोड लगानीमा उक्त भण्डारण गृह निर्माण गरेको जानकारी दिएको छ ।
“नेपाल आयल निगमले निर्माण गरेको यस डिजल भण्डारण गृह निर्माणले यस क्षेत्र तथा परिआएको अवस्थामा देशका अन्य क्षेत्रका लागि समेत थप भरपर्दो आपूर्ति शृङ्खला सुनिश्चित गर्न र उच्च माग वा अप्रत्याशित परिस्थितिमा इन्धन अभावको जोखिमलाई कम गर्न सक्छ”, मन्त्री रिजालले भने ।
उनले इन्धन भण्डारण गृह निर्माणले ऊर्जा पूर्वाधार विकास तथा देशको उड्डयन क्षेत्रलाई थप प्रगतिको पथमा अघि बढाउने एउटा महत्त्वपूर्ण घडीको सुरुआत भएको बताए । यसका लागि परियोजना निर्माणमा संलग्न सबैलाई मन्त्री रिजालले धन्यवाद दिए ।
“हालैका वर्षमा नेपालको आन्तरिक र अन्तर्राष्ट्रियरूपमा हवाई यात्रामा वृद्धि हुँदै गइरहेको अवस्था छ । मनमोहक हिमाल र शान्त तालको बीचमा रहेको सुन्दर नगरी पोखरा पर्यटकीय गन्तव्य बन्दै गएकोमा हवाई यात्राको बढ्दो मागलाई समायोजन गर्न निर्माण हुने हवाई इन्धन डिपोले थप सहजता ल्याउने छ”, उनले भने, “डिपो सञ्चालन पश्चात निगमले उड्डयन उद्योगलाई विश्वस्तरीय हवाई इन्धन र रिफ्युलिङ सुविधाहरू उपलब्ध गराउनेमा विश्वास लिएको छु ।”





