Logo

डिभोर्सबारे एलिना चौहानः व्यक्तिगत कुरालाई मजाकको विषय नबनाउनुहोला, आफ्नो छोरीचेली सम्झिनुहोला (भिडिओ)



काठमाडौँ, १९ माघ । पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद (डिभोर्स) का लागि शुक्रबार काठमाडौँ जिल्ला अदालतमा फिरादपत्र दर्ता गराएकी गायिका एलिना चौहानले आफ्नो ‘पर्सनल लाइफ’बारे पहिलोपटक मुख खोलेकी छन्।

शनिबार फेसबुक लाइभमा आउँदै गायिका चौहानले दुवै पक्षको छलफल र सहमतिमा सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाइएको बताएकी हुन्।

‘यो डिसिजनचाहिँ एकदम सोचेर लिएको डिसिजन हो। दुई जनाले सल्लाह गरेर, दुई जनाले कुरा गरेर घरपरिवारबीच कुरा भएर। डिसिजन लेको कुरा हो’, उनले फेसबुक लाइभमा भनेकी छन्, ‘अदालतभित्रको कुरा कसरी बाहिर निस्किन्छ, त्यो मलाई थाहा छैन। कहिलेकाहीँ कति कुराहरूचाहिँ इच्छाभन्दा पनि जरुरी हुँदोरहेछ। गर्नैपर्ने जरुरी हुँदोरहेछ। मनमुटाव हुँदाहुँदै पछि ठूलो दुर्घटना भयो भने झन् नराम्रो हुन्छ नि! अहिले त केही बिग्रेको छैन।’

भिडिओ-

 

यस क्रममा उनले आफ्ना पति सापकोटालाई गाली नगर्न आफ्ना फ्यानहरूलाई अनुरोध पनि गरेकी छन्।

‘यो समयमा मलाई कतिले साथ दिन्छु भनेर सोचिरहनुभएको छ भने ठीक छ, साथ दिनूस्’, एलिनाले भनेकी छन्, ‘तर उहाँलाई नराम्रो नभन्नुहोला। उहाँलाई गाली नगर्नुहोला। बरु मलाई गाली गर्नु, केही छैन, जिन्दगीमा कस्तो कस्तो भोगियो, कस्तो कस्तो सहियो, खरानी भइसकेको मान्छेलाई आगोसँग डर हुँदैन।’

यस क्रममा गायिका एलिनाले नेपालका सबै छोरीले आफ्नाजस्तै बुवाआमा पाउन् भन्ने कामना पनि गरेकी छन्।

उनले भनेकी छन्, ‘मेरोजस्तो आमाबाउ नेपालमा सबै छोरीको होस्। यही मेरो इच्छा छ। यो भन्दा धेरै म केही बोल्न पनि सक्दिनँ। केही बोल्दिनँ पनि।’

प्रतिक्रिया दिनुहोस्