Logo

डुबेर बेपत्ता भएका किशोर मृतावस्थामा फेला



बाँके, २७ साउन । बाँकेको खजुरा गाउँपालिका-७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर तीन दिनपछि मृतावस्थामा फेला परेका छन् ।

जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका-६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए ।

बेपत्ता भएको स्थानबाट करिब दुई सय मिटर तल रहेको पिविसी इँटाभट्टा नजिक नालामा गए राति सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।

बेपत्ता सुनारको शव धनौली इलाका प्रहरी कार्यालयबाट खटिएको सुरक्षाकर्मीको टोलीसहित रहेका स्थानीय गोपाल तामाङले नालाबाट निकालेका थिए ।

जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुनार खोलामा बाढी आएको समयमा पौडी खेल्दा बेपत्ता भएको विद्यालयको व्यवस्थापन समिति अध्यक्ष दलकृष्ण सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्