काठमाडौँ, ३ असोज । नेपालमा डेङ्गी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० जना पुगेको छ ।
देशका विभिन्न ठाउँमा गरी डेङ्गी सङ्क्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिए ।
यस्तै अहिलेसम्म १६ हजार पाँच सय ८७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ६ सय चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौँमा चार हजार चार सय ५४ र भक्तपुरमा सात सय १३ जना गरी काठमाडौँ उपत्यकामा डेङ्गी सङ्क्रमितको सङ्ख्या नौ हजार सात सय ७१ पुगेको छ ।
उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार पाँच सय ९७ जनामा सङ्क्रमण देखिएको छ । दाङमा नौ सय ९४, रुपन्देहीमा ६ सय ५९, चितवनमा चार सय १०, गुल्मीमा दुई सय ९२, दार्चुलामा एक सय ८८ र काभ्रेमा एक सय ५२ जनामा सङ्क्रमण देखिएको छ । अरू जिल्लामा सङ्क्रमितको सङ्ख्या एक सयभन्दा कम रहेको महाशाखाको तथ्याङ्क छ । डेङ्गीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने विज्ञहरूको सुझाव छ ।