डेनमार्क, २० असार । डेनमार्कको एक सपिङ मलमा गोलाबारी भएको छ । बन्दुकधारीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ । दक्षिण कोपनहेगनमा रहेको फिल्ड्स मलमा गोलाबारी भएको हो ।
घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले २२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । घटना पछि प्रधानमन्त्री मेट फ्रेड्रिकसेनले डेनमार्कले क्रुर आक्रमण भोगेको बताएका बीबीसीले जनाएको छ ।
फिल्ड्स मलमा १ सय ४० भन्दा धेरै पसल र रेस्टुरेन्ट छन् । यो मल कोपनहेगनको बाहिरी भागमा छ र यो सहरको केन्द्रसँग जोडिने सबवे लाइन नजिकै रहेको खबरमा उल्लेख छ ।