डोटी, ४ साउन । डोटी जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ५७ लाख ६० हजार ३६५ रुपैयाँ बजेट फ्रीज भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय सिलगढी डोटीका अनुसार जिल्लामा कुल बजेटको ११ दशमलव ७७ प्रतिशत बजेट फ्रीज भएको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी जयदेव पन्तका अनुसार जिल्लामा पुँजीगततर्फ एक अर्ब ८४ करोड ६८ लाख १५ हजार ५०० रुपैयाँ बजेट विनियोजन भएकोमा जम्मा एक अर्ब १९ करोड ३५ लाख ८२ हजार ४४५ रुपैयाँ मात्रै खर्च भएको छ । यो रकम पुँजीगततर्फ कुल विनियोजित रकमको करिब ३५ प्रतिशत मात्रै हो ।
यसैगरी आर्थिक वर्ष २०७८/०७९ का लागि जिल्ला विनियोजित ६ अर्ब ७० करोड ८ लाख ३५ हजार ९६५ रुपैयाँमध्ये ६ अर्ब ३४ करोड ८३ लाख ८ हजार ५५४ खर्च भएको छ । यो रकम कुल चालु रकमको करिब ९५ प्रतिशत हो । जिल्लामा यो अवधिमा ५८ करोड २६ लाख ७१ हजार ४७३ रुपैयाँ राजश्व सङकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।