Logo

डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते



डोटी, २१ मंसिर । डोटीमा चितुवाको आक्रमणमा परि पाँच जना घाइते भएका छन् ।

मंगलबार बेलुका साढे ५ बजे पूर्वीचौकी गाउँपालिका-५ बटाला गाउँका पाँच जना चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार घाइते हुनेमा ४५ वर्षीया सरुदेवी बटाला, उनका चार वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका छन् ।

चार वर्षका सिद्ध बटाला घरको आगनमा खेलिरहेका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । बटाला चिच्याएपछि परिवारका सदस्यले चितुवालाई लखेटेका थिए । भाग्दै गरेको चितुवाले बटालाको घरभन्दा पर गोठालोबाट फर्किदै गरेका सरु, लाली, हसिना र पुष्पालाई आक्रमण गरेको हो ।

घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्