काठमाडौँ, २३ कात्तिक । काठमाडौँ, २३ कात्तिक । डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रविन्दु बनाएर मंगलबार राति र बुधबार बिहान आएको शक्तिशाली भूकम्पबाट ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर बुधबार साँझ ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ म्याग्नीच्यूडको र मध्यराति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
भूकम्पमा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।
यसैगरी स्थानीय ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ ।







