काठमाडौँ, २७ असार । नेकपा एमालेका नेता घनश्याम भुसालले माधव नेपालले १० बुँदे सहमति लत्त्याएर ठुलो गल्ती गरेको भन्दै भविष्यमा प्रायश्चित गर्नु पर्ने बताएका छन् ।
माधव नेपालको दोहोरो नीति’ का कारण नेकपा एमाले विभाजन भएको उल्लेख गर्नुहुँदै नेता भुसालले २० प्रतिशतमा पार्टी विभाजन गरेका कारण इतिहासको कठघरामा उभिनु पर्ने पनि उनको भनाई छ ।
उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, “आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्त्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठुलो गल्ती गर्नुभएको छ” नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्ने विरोध गर्ने तर आफूले २० प्रतिशतमा पार्टी विभाजन गर्ने घटनाले उहाँको दोहोरो चरित्र देखिएको उनको टिप्पणी छ ।
“कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि हुनुहुन्थ्यो” नेता भुसालले भनेका छन्, “त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेको थिए भन्ने कुरा धर्तीको कुनै पनि इजलासले भन्न सक्ने छैन, ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।”







