
काभ्रेपलाञ्चोक, ३० भदौ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार सो घटनामा परी निधन भएका वर्ष ४४ का नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावीत्री तामाङको सनाखत भएको छ ।
नीरबहादुरकी आमा लादुलुङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको खानीमाथिबाट झरेको पहिरामा परी घरसहित एकै परिवारका दुई जना पुरिएका हुन् । घटनापश्चात् सुरक्षाकर्मीको टोलीले गरेको खोजतलासमा दुई जनाको शव निकालेको उनले बताए ।






