झापा, २७ मङ्सिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै आफ्नो मागलाई शान्तिपूर्ण ढङ्गले राख्न सुझाव दिएका छन् ।दमक नगरपालिकाले मंगलवार आयोजना गरेको लागुऔषधको नियन्त्रण, रोकथाम सचेतना र उपचार अभियान कार्यक्रमको शुभारम्भ सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पहिचानका लागि भइरहेको आन्दोलन हिंसात्मक हँुदै गएकाले अब हिंसाबाट आफ्ना माग पूरा गर्ने भ्रम त्याग्नुपर्ने स्पष्ट पारे ।
पहिचानवादीको नाममा हँुदै आएका गतिविधि सरकारले गम्भीर रुपमा लिँदै आएको बताउँदै उनले पहिचानका नाममा हिंसा, अस्थिरता निम्त्याउने कार्य भएर त्यस्ता कार्य कानुन अनुसार नियन्त्रण गर्न सरकार बाध्य हुने बताए ।
पहिचानवादीले व्यक्ति लक्षित आक्रमण गर्ने कार्य ठीक नभएको उनको भनाइ थियो । उनले किरात सभ्यता र संस्कृति देशकै साझा गहना मात्र नभएर सम्पत्ति भएकाले यस्ता सम्पत्तिको संरक्षण र सम्वर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध भएको बताए । उनले भने, “पहिचानको मुद्दा यो सरकारले अनुभूति हुने गरी काम गर्नेछ, त्यसमा चिन्ता लिनुपर्दैन ।”
आफू मुख्यमन्त्री भएपछि राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको नाममा यो प्रदेशभित्रका विभिन्न जातजाति, भाषाभाषी, संस्कार र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नका लागि फाल्गुनन्द भाषा संस्कृति संरक्षण प्रतिष्ठान गठन गर्न बजेट छुट्याएको बताउँदै अब चाँडै नै प्रदेश तहमा सरोकारवाला सम्मिलित समिति गठन गरी काम थाल्ने जानकारी दिए ।
उनले भने,‘लागुऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान दमकबाट सुरु भएको र यो प्रदेशभर आवश्यक भएको मुख्यमन्त्रीको भनाइ थियो । संस्कारयुक्त समाज निर्माण गर्ने कुरामा हामी सधै तत्पर रहनुपर्छ र कोशी प्रदेश सरकार यसमा तत्पर छ ।’’
लागुऔषध प्रयोगकर्तालाई समाजमा पुनःस्थापित गर्न र यसका लतमा लाग्न नदिनका लागि सबैको सहयोग आवश्यक रहेकोमा पनि उनले जोड दिए । दमकको कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक–९ स्थित बिजुली अफिस सडकखण्डमा पहिचानवादीले कालो झण्डा देखाएर उनी सवार गाडीमा ढुङ्गा प्रहार गरेका थिए ।







