काठमाडौँ, ३ साउन । नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई आग्रह गरेका छन् ।
मङ्गलवार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिका लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रियामा बोल्दै एमाले सचिव भट्टराईले यस्तो आग्रह गरेका हुन् ।
उनले तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए । विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षका रूपमा छोडिदिएर बिर्सिनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘अब फेरि हामी एक ठाउँमै आउनुपर्छ । त्यसको विकल्प छैन । कसले के गर्यो भन्ने कुरा बिर्सिनुपर्छ । कसले के गर्यो भने धेरै पछाडि नफर्किऔँ । जब कसले के गर्यो भन्ने कुरामा हामी जान्छौँ, एकले अर्कालाई चिर्थोछौँ र घाइते बनाउँछौँ भने काम हुँदैन । अगाडि कसरी जाने, त्यो सोचौँ । माओवादी साथीहरू र समाजवादी फर्किनुपर्यो । ’







