काठमाडौँ, ३२ असार । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन गर्न माग गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाउँदै वाइसीिएलले गर्भनर निलम्बन गराउन दबाब दिएको हो ।
वाइसिएलले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘राजनीतिक दलको सदस्यता, जिम्मेवारीमा रही साथै शैक्षिक योग्यतासमेत नपुगेका राष्ट्र बैंकका गभर्नर एम अधिकारी (महाप्रसाद अधिकारी)लाई तुरुन्त बर्खास्त गरी छानबिन गरियोस् ।’
आर्थिक संकट र विदेशी मुद्रा संचिति घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय रोक्न, संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिनु पर्नेलगायत ७ बुँदे मागसमेत प्रधानमन्त्रीसमक्ष राखेको छ ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले कानुनविद्सँग परामर्श गरेर गभर्नरबारे निर्णय लिने आश्वासन दिएका छन् । त्यसो त शुक्रबारको गठबन्धनको बैठकमा पनि प्रधानमन्त्रीले गभर्नरले राजीनामा दिनुपर्ने बताएका थिए ।







