तनहुँ, १० चैत । तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारमा शनिवार बिहान पर्यटक बस दुर्घटना हुँदा ६ जना चिनिया पर्यटक घाइते भएका छन् ।
पोखराबाट काठमाडौँ जाँदै गरेको बा १ प ११३९ नं.को पर्यटक बस सडकको दायाँ साइडमा पल्टिँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । खाँडका अनुसार दुर्घटनामा बसमा सवार २६ मध्ये सो सङ्ख्यामा घाइते भएका हुन् ।
घाइते हुनेहरूमा ५० वर्षीय सुन लि, ५७ वर्षीय हुक्सिया लि, ६२ वर्षीय वाङ वि डोङ, ६७ वर्षीय कियो मेङ, ६८ वर्षीय छुचेङ र ७० वर्षीय लियो या छिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते सबैको शुक्ल गण्डकी नगरपालिकाको बेल चौतारा स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको र दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रनाउ खाँडले जानकारी दिए । चालकलाई नियन्त्रणमा लिइएको उनले बताए ।






