तनहुँ, १० वैशाख । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १:४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ ।
निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएकामा करिब सात घण्टामा ३५ प्रतिशत मत खसेको हो ।
यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ४३ हजार एक सय ५६ मत खसेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार एक सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको छ ।
निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ । उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् ।