दमौली, १० वैशाख । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले मतदान गर्न नपाउने भएका छन् । खनाल र वाग्लेको तनहुँको निर्वाचन क्षेत्र नं. १ मा मतदाता नामावलीमा नाम नरहेकाले मतदान गर्न नपाउने भएका हुन् ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार गोविन्द भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गर्न पाउने छन् ।
तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनका लागि कांग्रेसबाट भट्टराई, एमालेबाट खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् । उपनिर्वाचनका लागि एक लाख २३ हजार तीन सय पाँच मतदाता छन् ।