काठमाडौँ, २५ पुस । आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने तपस्वी रामबहादुर बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको प्रहरीको भनाइ छ। यसबाहेक उनको घरबाट १५ वटा मोबाइल, तीन ल्यापटप पनि बरामद भएको सीआईबीका एक उच्च अधिकारीले जनाएका छन् ।
बम्जन मंगलवार साँझ काठमाडौँको बुढानिकण्ठबाट पक्राउ परेका थिए । बम्जनमाथि २०७३ साल साउन २० मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौन शोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ ।
बम्जनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ । आश्रममा बसेका आनीसहित चार जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनी प्रहरीको खोजी सूचीमा थिए ।






