भारत, ९ पुस । भारतको तमिलनाडुको थेनी जिल्लामा तिर्थयात्री चढेको कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
भारतको केरलामा रहेको सबरीमाला मन्दिरको दर्शन गरेर तमिलनाडुकै सन्मुगासुन्दरपुरम गाउँ फर्किँदै गरेका दश तिर्थयात्री बोकेको कार शुक्रबार बेलुका दुर्घटनामा परेको हो । कार सडकबाट करिब ४० फिट तल खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
घाइते भएका दुई जनाको उपचार भइरहेको खबरमा उल्लेख छ । उद्धार गरिएका दुई जनामा ९ वर्षीय बालक समेत रहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार गम्भीर घाइते भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।







