Logo

तरकारी कृषकको दुखेसो, ऋण केले तिर्नु !



झापा, २८ चैत । तरकारी खेती मार्फत जीवन गुजारा गरिरहेका उत्तरी झापाका अधिकाम्स किसान आफ्नो उत्पादन बेच्न नपाएपछि निराश बन्न बाध्य भएका छन् । लक डाउनका कारण बारीभरी उत्पादन भएका तरकारी बजार पठाउन नसकेपछि साहुको ऋण र वर्षभरी परिवार धान्ने आर्थिक जोहो गुम्ने खतरा बढेपछि कृषक निराश भएका हुन् ।

उत्तरी झापाका किशानका बारीमा उत्पादित तरकारी उपभोक्ताका घर घर पुग्न नसकिरहेका बेला भारतीय बजारबाट ट्रकका ट्रक तरकारी भित्रिने गरिरहेको छ । सवारी साधन लिएर खुद्रा व्यापारी उत्तरी झापा पुग्न नसक्ने तर, भारतबाट खाद्यन्न ढुवानी हुने सवारी साधन नेपाल प्रवेश पाउने भएपछि उत्तरी झापामा उत्पादित साग सब्जी बारीमै कुहिने अवस्था आएको हो ।

उत्तरी झापाका साविकका वाहुण्डाँगी, शान्तिनगर, बुधवारे, खुदुनावारी लगायत क्षेत्रमा व्यवसायिक रूपमा तरकारी हुने गरेको छ । यस क्षेत्रबाट उत्पादित तरकारी विर्तामोड स्थित कृषि थोक बजारमा लगेर कृषकले बेच्ने गरेका छन् । दुई हप्तायता कृषि थोक बजार बन्द भएपछि उत्तरी झापामा उत्पादित साग सब्जी बारीमै कुहिन थालेको छ ।

सहकारी तथा व्यक्तिगत प्रयासमा गरिएको तरकारी खेतीले झापा लगायत आसपास क्षेत्रका बासिन्दालाई साग सब्जीको माग धानिरहेको छ । ककषकले उत्पादन गरेको तरकारी कुहिने भएपछि ऋण र ब्याज केले तिर्नु भन्ने चिन्तित भएका छन् । तर, मुख्य बजार बन्द भएपछि कृषकका उत्पादन खेत बारीमै सिमित बनेको पीडित कृषकले गुनासो गरे ।

बुद्धशान्ति ५ शान्तिनगरका कृषक धनबहादुर श्रेष्ठका अनुसार त्यस वडामा मात्र २ सय विगाह बढी क्षेत्रफलमा लगाइएको तरकारी जन्य उत्पादन बजार पठाउन नसक्दा कुहिने अवस्था आइसकेको छ । सहकारी तथा व्यक्तिगत लगानीमा गरेको तरकारी खेतीबाट सयौं परिवारको जीवन धानिएको थियो ।

नेपाली सब्जी बजार पूर्याउन नसक्ने तर, भारतीय साग सब्जी नेपाल भित्रिरहेको कृषक श्रेष्ठ गुनासो गरे । श्रेष्ठका अनुसार स्थानीय सरकारले समेत कृषको समस्या नसुनिदिँदा बारीमै तरकारी कुहिने अवस्था आएको हो ।

हिउँदे तरकारीको अन्तिम सिजन भएकोले यस बेला टमटर, मटर, बन्दाकोपी, भिण्डी, भाण्टा, सिमी, विभिन्न सागपात, फर्सी, लौका लगायत उत्पादित भइरहेको उत्तरी झापाका सयौं कृषकको पेशा नै संकटमा परेको छ ।

कृषकले स्थानीय उत्पादनको बजारीकरण गर्न सरकारले ध्यान नदिएको समेत गुनासो पोख्छन् । उनीहरू भारतीय उत्पादनले जस्तै निर्वाध नेपाली साग सब्जीले बजार पाउने वातावरण बन्नु पर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्