काठमाडौँ, ८ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका छन् ।
बिहीवार काठमाडौँमा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसपटकको स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका हुन् ।
उनले विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै अहिले तराई, मधेशमा एमालेको लहर आएको बताए ।
अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै भने, ‘हामी बहुमत ल्याउन सक्छौँ । अघिल्लो निर्वाचनमा पनि हामी सरकारमा थिएनौँ । परिणाम राम्रो ल्याएको थियौँ । तराईमा हामीलाई प्रवेश गर्न दिइएको थिएन । यसपल्ट तराईमा एमालेलाई मात्र जनताले स्वागत गर्छन् । मधेशमा अहिले एमालेको लहर आएको छ । त्यसकारण पहिलेको भन्दा स्थिति अहिले धेरै राम्रो छ ।’