Logo

तराईको लाइफलाइन हुलाकी सडक निर्माणमा एमालेको योगदान महत्वपूर्ण : शंकर पोखरेल



काठमाडौं, ४ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हुलाकी सडक निर्माणमा एमाले र पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले हुलाकी सडकको ऐतिहासिक महत्व र वर्तमान अवस्थाबारे प्रकाश पार्नुभएको हो ।

महासचिव पोखरेलका अनुसार, हुलाकी सडक तराईका सदरमुकामहरूलाई जोड्ने परम्परागत सञ्चार मार्गको रूपमा विकसित भएको थियो । प्रारम्भमा हुलाक सेवाको लागि प्रयोग हुने यो मार्ग पछि गएर कच्ची सडक सञ्जालको रूपमा विकसित भयो र मधेसी जनताको जीवनरेखाको रूपमा स्थापित भयो ।

विकासक्रममा देशका अन्य भागमा पक्की सडकहरू बन्दै गए पनि सघन बसोबास भएको तराई–मधेशमा हुलाकी सडक पक्की हुन सकेको थिएन । तत्कालीन प्रधानमन्त्री माधव नेपालको कार्यकालमा भारत सरकारको सहयोगमा सडक निर्माण गर्ने प्रयास भए पनि त्यो सफल हुन सकेन ।

महासचिव पोखरेलले संविधान जारी भएपछिको मधेश आन्दोलन र नाकाबन्दीको सन्दर्भ उल्लेख गर्दै पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भएपछि हुलाकी सडक निर्माणले गति लिएको स्मरण गराउनुभयो।

महासचिव पोखरेलले यस विकास कार्यको परिणामस्वरूप मधेसमा एमालेप्रतिको धारणा सकारात्मक बनेको र हाल प्रदेशमा एमाले सबैभन्दा ठूलो दल बनेको उल्लेख गर्नुभएको छ । हुलाकी सडक अहिले नेपालको सडक सञ्जालको एक महत्वपूर्ण अंग बनेको महासचिव पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्