झापा, १९ फागुन । तराईका जिल्लाहरूमा आज रङहरूको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदैछ। हिमाली तथा पहाडी भेगमा फागु पूर्णिमा मनाएको भोलिपल्ट तराईमा होली मनाउने परम्पराअनुसार आज सार्वजनिक बिदासहित उत्सव धुमधामका साथ मनाइँदैछ।
झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), जिल्लामा बिहानैदेखि टोल–टोलमा रङ अबिर उडाउँदै, पानीका फोहोरा छ्याप्दै र गीत–सङ्गीतमा रमाउँदै होली मनाइएको छ।
मगर र थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होलीलाई विशेष महत्वका साथ मनाउने चलन छ। स्थानीय बासिन्दाले सामूहिक रूपमा नाचगान, ढोल–मृदङ्ग बजाउँदै र परम्परागत परिकारको स्वाद लिँदै उत्सवलाई रसरङ्गले तरङ्गित बनाएका छन्। होलीलाई भेदभाव भष्म गर्ने र सबैलाई एउटै रङमा रङ्ग्याउने समानता र सद्भावको पर्वका रूपमा लिने गरिएको छ।
धार्मिक दृष्टिले होलीलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीक मानिन्छ। प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण र होलिकासँग जोडिँदै फागु, फगुवा, होरी आदिका नामबाट मनाइँदै आएको जनविश्वास छ।
यसैबीच, होलीलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले विशेष सुरक्षा योजना लागू गरेको छ। जिल्ला प्रहरी कार्यालयले अनुमतिबिना रङ दल्ने, जबर्जस्ती लोला हान्ने, झैझगडा गर्ने वा अभद्र व्यवहार गर्ने गतिविधिमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।
प्रहरीले अपरिचित व्यक्तिसँग होली नखेल्न, कसैको इच्छाविपरीत रङ नदल्न, हानिकारक रासायनिक रङको प्रयोग नगर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र ट्राफिक नियमको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। कुनै पनि आपराधिक घटना देखिएमा वा शङ्का लागेमा तुरुन्त प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
उल्लास, एकता र सद्भावको सन्देश बोकेको होलीले तराईका बस्तीहरू आज रङ्गीचङ्गी र उमङ्गमय बनेका छन्।







